नवलपरासी, अक्टोबर १९, २०२६ — बुटवलमा एक महिलामाथि गोली प्रहार गरी फरार भएको आरोप लागेका २६ वर्षीय भारतीय नागरिकलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक सितारे आलम अन्सारी रहेका छन्।
प्रहरीका अनुसार अन्सारीले २०८२ वैशाख ६ गते २९ वर्षीया टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार गरेका थिए। विपना नामले समेत चिनिने बिष्ट पाल्पाको रैनादेवी गाउँपालिका–३, बम्घाकी हुन्। उनी रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी थिइन्।
घटनापछि अन्सारी भारततर्फ फरार भएका थिए र त्यहाँ लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ।
अन्सारी नेपाल प्रवेश गरी नवलपरासीमा रहेको भन्ने विशेष सूचना पाएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई २०८३ कात्तिक १ गते दिउँसो करिब ३ बजे पाल्हीनन्दन गाउँपालिका–३, विलासपुरबाट नियन्त्रणमा लिइएको थियो।






