बर्दिया, सेप्टेम्बर २०, २०२६ — आइतबार बिहान बर्दियामा महेन्द्र राजमार्ग हुँदै जाँदा भाडामा लिइएको फोटोन इलेक्ट्रिक हायसमा आगलागी भयो।
सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको उक्त सवारी कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गर्दा बिहान करिब ६ः५० बजे बारबर्दिया नगरपालिका-७, रम्मापुरस्थित नम्बर ५ चोक नजिक अचानक आगो लागेको थियो।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी प्रहरी उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार आगलागीको सूचना पाएपछि घटनास्थलमा प्रहरी टोली खटाइएको थियो।
“सवारीमा चालक र सहचालक मात्र थिए, त्यसैले मानवीय क्षति भएन,” बोहराले भने।
उक्त सवारी कैलालीको धनगढी उपमहानगरपालिका-३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए। प्रहरीका अनुसार चालक र सहचालकबाहेक अन्य यात्रु नभएकाले ठूलो दुर्घटना र ज्यानको क्षति हुनबाट बचियो।






