धनुषा, अक्टोबर १, २०२६ — धनुषामा बालुवा–गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टिँदा पुरिएका ३६ वर्षीय एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ।
मृत्यु हुनेमा मिथिला नगरपालिका–३, लालभित्तिस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक रामसागर महतोका छोरा हरि महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बिहीबार बिहान करिब ७ः२० बजे प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपर उद्योग परिसरमा बालुवा–गिट्टी अनलोड गर्ने क्रममा अचानक पल्टिएको थियो।
टिपर पल्टिएपछि उद्योग परिसरमा रहेको जेसीबीको सहयोगमा महतोलाई तत्काल उद्धार गरिएको थियो। गम्भीर घाइते महतोलाई उपचारका लागि रमदैयास्थित जानकी मेडिकल कलेज लगिएको थियो। तर उपचारकै क्रममा बिहान १०ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६, गोदारका करिब ३० वर्षीय हरि बि.बि.क. पनि घाइते भएका छन्।






