काठमाडौं, अक्टोबर २, २०२६ — उच्च ब्याजदरको ऋण, जहाज विस्तारमा देखिएको ढिलाइ र प्राविधिक जनशक्ति अभावका कारण नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) संकटमा परेको निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बताएका छन्।
कालाखेतीले शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्।
निगमको सेवासुविधाप्रति असन्तुष्टि जनाउँदै हालै पाँच जना वाइडबडी क्याप्टेनले राजीनामा दिएको उनले बताए। उनीहरूको राजीनामा स्वीकृत भएमा निगमलाई वाइडबडी जहाज सञ्चालन गर्न समस्या हुने उनले बताए।
‘जनशक्ति व्यवस्थापनको अवस्था चिन्ताजनक छ। वाइडबडीका पाँच जना क्याप्टेनले राजीनामा दिएको अवस्था छ। भोलि राजीनामा स्वीकृत गर्ने हो भने वाइडबडी जहाज उडानमा समस्या हुने देखिएको छ,’ उनले भने।
विदेशी वायुसेवाले पाइलट तथा इन्जिनियरलाई तुलनात्मक रूपमा बढी पारिश्रमिक दिने भएकाले निगममा जनशक्ति टिकाउन कठिन भइरहेको कालाखेतीले बताए।






