काठमाडौं, १५ अगस्ट २०२६ — नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो आर्थिक वर्षमा बढेको प्रारम्भिक विवरणले देखाए पनि ऋण, ब्याज, मर्मतसम्भार तथा सञ्चालन खर्चका कारण राष्ट्रिय ध्वजावाहकको वित्तीय सुधार अझै चुनौतीपूर्ण देखिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपाल वायुसेवा निगममा सुधारका संकेत देखिएको बताएका थिए। सामाजिक सञ्जालमार्फत उनले निगमले चार महिनामै ६ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरेको, ८६ प्रतिशत अकुपेन्सी हासिल गरेको र ऋणको किस्ताबापत १ अर्ब ६ करोड रुपैयाँ भुक्तानी गरेको बताएका थिए।
तर निगमको आफ्नै प्रारम्भिक वार्षिक विवरणले वित्तीय अवस्था अझै सहज नभएको देखाउँछ।
निगमका अनुसार आर्थिक वर्ष २०८२/८३ मा करिब २३ अर्ब ४० करोड रुपैयाँ आम्दानी भएको अनुमान छ। सोही अवधिमा कुल खर्च करिब २४ अर्ब ४० करोड रुपैयाँ पुग्न सक्ने प्रारम्भिक अनुमान छ। यसअनुसार निगम करिब १ अर्ब रुपैयाँ घाटामा रहने देखिन्छ।
निगमले आफ्नो अन्तिम वित्तीय विवरण भने तयार गरिसकेको छैन। निगमकी कर्पोरेट निर्देशक तथा प्रवक्ता अर्चना खड्काका अनुसार विभिन्न स्टेसनबाट आम्दानी तथा खर्चको विवरण संकलन गर्ने काम अझै जारी छ। त्यसैले हालको तथ्यांकलाई अन्तिम मान्न नहुने र लेखा विवरण पूरा भएपछि आम्दानी तथा खर्च दुवै बढ्न सक्ने उनले बताइन्।





