काठमाडौं, अक्टोबर १४, २०२६ — नेपालबाट भारत जाने यात्रुले अब मोबिकिन्स एमके पीबी–०४ (MOBIKINS MK PB-04) पावर बैंक बोक्न नपाउने भएका छन्। नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको सर्कुलरअनुसार उक्त पावर बैंक बोक्न प्रतिबन्ध लगाइएको हो।
व्यवस्थाअनुसार भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानमा उक्त पावर बैंक क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा लैजान पूर्ण प्रतिबन्ध गरिएको छ।
यसअघि दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो।






