पोखरा, सेप्टेम्बर १५, २०२६ — यूएईमा आधारित विमान सेवा कम्पनी फ्लाईदुबईले सेप्टेम्बर २३ देखि पोखरा र दुबईबीच सिधा उडान सुरु गर्ने भएको छ। यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय यात्रुवाहक उडान सञ्चालन हुने अपेक्षा गरिएको छ।
फ्लाईदुबईले सार्वजनिक गरेको उडान तालिकाअनुसार पहिलो उडानको विमान सेप्टेम्बर २३ मा साँझ ६:१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। यात्रुहरू ओरालिसकेपछि नयाँ यात्रु चढाएर विमान साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार फ्लाईदुबईले पोखरा–दुबई रुटमा एयरबस ए३१९ वा ए३२० विमान सञ्चालन गर्नेछ।
उनका अनुसार एयरबस ए३१९ मा करिब १४० देखि १५० यात्रु र ए३२० मा करिब १६० देखि १८० यात्रु अट्ने क्षमता हुन्छ। यात्रुको मागअनुसार फ्लाईदुबईले पोखरा रुटमा यी दुईमध्ये फरक–फरक विमान सञ्चालन गर्ने रावतले बताए।
“पहिलो उडानमा पोखरा आउने यात्रुको संख्या उल्लेख्य हुनेछ। दुबई फर्किने उडानमा यात्रुसँगै कार्गो पनि लैजाने भएकाले आगमनतर्फ पनि उल्लेख्य यात्रु हुनेछन्,” रावतले भने।






