काठमाडौं, सेप्टेम्बर २१, २०२६ — नेपाल वायुसेवा निगमका दुवै वाइडबडी जहाज ग्राउन्डेड हुँदा तीन सातामा ४० करोड रुपैयाँभन्दा बढी कारोबार गुमेको छ भने मर्मत र यात्रु व्यवस्थापनको खर्चसमेत जोड्दा निगममाथि कम्तीमा ९० करोड रुपैयाँको वित्तीय भार पर्ने भएको छ।
निगमका अनुसार दुवै ग्राउन्डेड जहाजको मर्मतमा कम्तीमा ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ। निगमका एक इन्जिनियरका अनुसार गुमेको कारोबार, सम्भावित मर्मत खर्च र प्रभावित यात्रुको व्यवस्थापनमा भइरहेको अतिरिक्त खर्च जोड्दा वित्तीय भार कम्तीमा ९० करोड रुपैयाँ पुग्न सक्छ।
ती इन्जिनियरले यो प्रारम्भिक अनुमान भएको र वास्तविक नोक्सानीका लागि निगमको आधिकारिक वित्तीय विवरण, अन्तिम मर्मत लागत तथा यात्रु व्यवस्थापनको पूर्ण खर्चको हिसाब आउनुपर्ने बताए।
दुवै जहाज ग्राउन्डेड हुँदा नारिता, ग्वाङझाउ, क्वालालम्पुर, दुबईलगायत गन्तव्यका टिकट लिइसकेका यात्रु प्रभावित भएका छन्।
काठमाडौंको ताहाचल घर भई टोकियो विश्वविद्यालयमा कार्यरत एक नेपालीले उडान रद्द भएपछि आफू र परिवारका तीन सदस्यले कम्तीमा ५० हजार रुपैयाँ थप खर्च गर्नुपरेको बताए। उनीहरूले करिब डेढ महिनाअघि निगमको एकतर्फी टिकट प्रतिव्यक्ति ९५ हजार रुपैयाँमा खरिद गरेका थिए।






