कास्की, अक्टोबर ६, २०२६ — कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा सडक पहुँच सहज भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ।
बाढीपहिरोका कारण अवरुद्ध बनेको वीरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएपछि पर्यटक घान्द्रुक पुग्न थालेका हुन्।
घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले बाटो सहज भएसँगै गाउँमा पर्यटकको चहलपहल सुरु भएको बताइन्। बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा घान्द्रुकको पर्यटन व्यवसाय लगभग शून्यमा पुगे पनि अब व्यवसाय चलायमान हुने आशा जागेको उनले बताइन्।
‘चाडपर्वसँगै पर्यटकको सिजन पनि सुरु भयो। बाटो पनि सहज भएको छ,’ उनले भनिन्, ‘असार, साउन र भदौमा पर्यटक शून्य नै थियो। अहिले विस्तारै आउन सुरु गरेका छन्। अब केही हुन्छ कि भन्ने आशा पलाएको छ।’
होटल रक एन्ड मुडका सञ्चालक तथा रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले घान्द्रुक पुग्ने बाटो सहज भएको सन्देश फैलाउन आवश्यक रहेको बताए।






