भर्जिनिया, अमेरिका, अक्टोबर ९, २०२६ — आफ्नी श्रीमती ममता काफ्ले भट्टको हत्या गरेको आरोप लागेका नरेश भट्टको मुद्दामा बुधबार १७ सदस्यीय जुरी गठन भएसँगै सुनुवाइ सुरु भएको छ। प्रारम्भिक सुनुवाइमा अभियोजन र प्रतिरक्षा पक्षले आफ्ना भनाइ राखेका छन्।
जुरीमा ५ वैकल्पिक सदस्यसहित ६ पुरुष र ११ महिला छन्। मुद्दाको सुनुवाइ करिब सात हप्तासम्म चल्ने अनुमान गरिएको छ।
भट्टमाथि श्रीमतीको हत्या गरी शव लुकाएको आरोप छ। सन् २०२४ को जुलाईमा बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन। भट्टले आफूमाथि लागेका फर्स्ट डिग्री मर्डर (नियोजित हत्या), शव लुकाएको र शव क्षतविक्षत पारेको गरी तीनवटै आरोप अस्वीकार गर्दै आएका छन्।
न्यायाधीशले अदालतभित्र क्यामेरा लैजान अनुमति दिएका छन्। तर सुनुवाइको प्रत्यक्ष प्रसारण गर्न रोक लगाइएको छ।
प्रिन्स विलियम काउन्टीका डेपुटी कमनवेल्थ महान्यायाधिवक्ता म्याथ्यु स्विटले अभियोजन पक्षको प्रारम्भिक बहस प्रस्तुत गरे। उनले जुरी सदस्यहरूलाई ममता बेपत्ता हुनुअघिको उनको जीवन सम्झन आग्रह गरे। ममताले आफ्नी आमालाई दैनिक फोन गर्ने, सामाजिक सञ्जाल चलाउने र सानी छोरीलाई असाध्यै माया गर्ने गरेको उनले बताए।






