म्यासाचुसेट्स, अमेरिका, सेप्टेम्बर ६, २०२६ — आफ्ना तीन सन्तानको मृत्यु प्रकरणमा अभियोग लागेकी लिन्डसे क्ल्यान्सीविरुद्धको हत्या मुद्दामा जूरीले सर्वसम्मत निर्णय दिन नसकेपछि म्यासाचुसेट्सको एक अदालतले मिस्ट्रायल घोषणा गरेको छ।
झन्डै छ हप्तासम्म चलेको सुनुवाइपछि जूरीले सात दिनसम्म छलफल गर्दा पनि सर्वसम्मत निर्णयमा पुग्न नसकेपछि शुक्रबार मिस्ट्रायल घोषणा गरिएको हो।
३६ वर्षीया क्ल्यान्सीमाथि सन् २०२३ को जनवरीमा म्यासाचुसेट्सको डक्सबरीस्थित आफ्नै घरमा पाँच वर्षीया कोरा, तीन वर्षीय डसन र आठ महिनाका क्यालनको हत्या गरेको आरोप थियो। क्ल्यान्सीले आफ्ना सन्तानको ज्यान लिएको तथ्यमा विवाद नगरे पनि मानसिक अवस्थाका कारण आफू आपराधिक रूपमा जिम्मेवार नरहेको दाबी गरेकी थिइन्। उनका वकिलले घटना हुँदा उनी प्रसवपछिको गम्भीर मानसिक रोग ‘पोस्टपार्टम साइकोसिस’बाट पीडित रहेको तर्क गरेका थिए।
अभियोजन पक्षले भने क्ल्यान्सीलाई आफ्ना कार्यको जानकारी रहेको र उनले जानाजानी आफ्ना सन्तानको हत्या गरेको दाबी गरेको थियो। मुद्दाको सुनुवाइका क्रममा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञहरूबीच घटना हुँदा क्ल्यान्सी मनोविक्षिप्त अवस्थामा थिइन् वा थिइनन् भन्ने विषयमा फरक–फरक राय प्रस्तुत भएका थिए।
जूरीले पटक–पटक अदालतलाई आफूहरू सर्वसम्मत निर्णयमा पुग्न नसकेको जानकारी दिएका थिए। प्रतिरक्षा पक्षले एक जूरी सदस्यले ‘उचित शंका’ सम्बन्धी कानुनी मापदण्ड सही रूपमा लागू नगरेको भन्दै आपत्ति पनि जनाएको थियो। मिस्ट्रायल रोक्न गरिएको आपतकालीन अपिल भने सफल हुन सकेन।






