काठमाडौं, २५ अगस्ट २०२६ — डोङफेङको प्रिमियम अफरोड विद्युतीय एसयूभी ब्रान्ड एमहिरोले आफ्नो फ्ल्यागसिप मोडल एमहिरो १ लाई काठमाडौंमा जारी नाडा अटो शो २०२६ मा प्रदर्शन गरेको छ।
नेपालमा डोङफेङका सवारीसाधनको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले भृकुटीमण्डपमा भइरहेको १८औँ नाडा अटो शोमा एमहिरो १ ल्याएको हो।
एमहिरो १ उच्च प्रदर्शनयुक्त अफरोड ड्राइभिङका लागि डिजाइन गरिएको फुल-साइज लक्जरी विद्युतीय एसयूभी हो। यसमा मजबुत तथा अफरोड केन्द्रित बाहिरी डिजाइनसँगै प्रिमियम इन्टेरियर र उच्च क्षमताको विद्युतीय पावरट्रेन दिइएको छ।
एसयूभीमा चारवटा विद्युतीय मोटर प्रयोग गरिएको छ, जसमा प्रत्येक मोटरले एउटा-एउटा पाङ्ग्रालाई शक्ति दिन्छ। चारवटै मोटरले संयुक्त रूपमा ८०० किलोवाट अर्थात् १,०८८ अश्वशक्ति पावर उत्पादन गर्छन्। यसको अधिकतम टर्क १,४०० एनएम रहेको छ।
करिब ३.५ टन तौल भए पनि एमहिरो १ ले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमै हासिल गर्न सक्छ।






