काठमाडौं, २५ अगस्ट २०२६ — यामाहाले एक्सएसआर १५५ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले नाडा अटो शो २०२६ मार्फत एक्सएसआर १५५ को बिक्री सुरु गरेको हो।
एक्सएसआर १५५ रातो, कालो र ग्रे गरी तीन रङमा उपलब्ध छ। रातो भेरियन्टको मूल्य ५ लाख ३९ हजार रुपैयाँ तोकिएको छ भने कालो र ग्रे भेरियन्टको मूल्य क्रमशः ५ लाख ४४ हजार रुपैयाँ र ५ लाख ५९ हजार रुपैयाँ छ।
एक्सएसआर १५५ को डिजाइन यामाहाको विश्वव्यापी एक्सएसआर परिवारबाट प्रेरित छ। यसले रेट्रो शैलीलाई आधुनिक प्रविधिसँग संयोजन गरेको छ। मोटरसाइकल यामाहा आर१५ र एमटी-१५ मा प्रयोग भएको प्लेटफर्ममै आधारित छ।
मोटरसाइकलमा डेल्टा बक्स फ्रेम, गोलो एलईडी हेडलाइट, टियरड्रप आकारको फ्युल ट्यांक र फ्ल्याट सिंगल-पीस सिट दिइएको छ। यसमा १० लिटर क्षमताको इन्धन ट्यांक छ भने मोटरसाइकलको तौल १३७ किलोग्राम रहेको छ।
एक्सएसआर १५५ मा १५५ सीसीको सिंगल-सिलिन्डर, लिक्विड-कुल्ड र फ्युल-इन्जेक्टेड इन्जिन प्रयोग गरिएको छ। यामाहाको भेरिएबल भल्भ एक्टुएसन (भीभीए) प्रविधिसहितको यो इन्जिनले अधिकतम १८.४ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ। इन्जिनलाई ६-स्पिड गियरबक्ससँग जोडिएको छ र यसमा असिस्ट तथा स्लिपर क्लच पनि उपलब्ध छ।






