लुलियाङ, चीन, सेप्टेम्बर १९, २०२६ — नेपालका युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनका बुहुओगुबु ‘द यी ईगल’लाई सर्वसम्मत निर्णयमा पराजित गर्दै शनिबार चीनको लुलियाङमा आयोजित जेचेङ किङ (जेसीके) फाइट नाइट–१२३ मा जित हात पारेका छन्।
पाँच–पाँच मिनेटका तीन राउन्डको खेलमा आङ्देम्बे र बुहुओगुबुले सुरुवातदेखि नै किक र मुक्का प्रहार गर्दै प्रतिस्पर्धा गरेका थिए।
पहिलो राउन्डको अन्तिम मिनेटमा आङ्देम्बेले आफ्नो बलियो पक्ष ग्र्यापलिङतर्फ खेल मोडे। उनले कुस्तीको सहारा लिँदै विपक्षीलाई जमिनमा लैजाने प्रयास गरे।
दोस्रो राउन्डको सुरुवातमै उनले आफ्नो कुस्ती शैलीलाई निरन्तरता दिँदै बुहुओगुबुलाई जमिनमा नियन्त्रणमा राखे। आङ्देम्बे नकआउट वा सबमिसनमार्फत खेल टुंग्याउने अवसरको खोजीमा थिए।
तर बुहुओगुबु आङ्देम्बेको रणनीतिका लागि तयार देखिए। आङ्देम्बेले केही प्रभावकारी मुक्का प्रहार गरे पनि चिनियाँ खेलाडीले आफूलाई खेलमा कायम राख्दै छिट्टै पराजित हुनबाट जोगिए।






