सांघाई, चीन, २८ अगस्ट २०२६ — नेपालको ‘बझाङको बाघ’ रवीन्द्र धान्त आज आफ्नो करियरकै सबैभन्दा महत्वपूर्ण भिडन्तमा उत्रिँदैछन्। रोड टु यूएफसी सिजन–५ को ब्यान्टमवेट सेमिफाइनलमा उनले अपराजित न्युजिल्यान्डका कासिब ‘मर्डर’ मर्डकको सामना गर्दैछन्।
यो भिडन्तको दाउ निकै ठूलो छ। सांघाई ओरिएन्टल स्पोर्ट्स सेन्टरमा हुने खेल जिते धान्त प्रतियोगिताको फाइनलमा पुग्नेछन् र यूएफसीसँग बहु–खेलको व्यावसायिक सम्झौता पाउने अवसरबाट उनी एक खेल मात्र टाढा रहनेछन्। रोड टु यूएफसी एसिया–प्रशान्त क्षेत्रका उत्कृष्ट सम्भावनायुक्त खेलाडीलाई यूएफसीसम्म पुर्याउने प्रतियोगितात्मक मार्गका रूपमा आयोजना हुँदै आएको छ।
आजको रोड टु यूएफसी सेमिफाइनल कार्ड नेपाल समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। चीनको सांघाईमा भने खेल साँझ ५ बजे सुरु हुनेछ। धान्त र मर्डकको भिडन्त कार्डको छैटौं खेलका रूपमा राखिएको छ। त्यसैले उनीहरूको वास्तविक वाकआउट समय करिब नेपाल समयअनुसार ४:१५ देखि ५:३० बजेसम्म हुन सक्ने अनुमान गरिएको छ। अघिल्ला खेलहरू कति छिटो सकिन्छन् भन्ने आधारमा यो समय अगाडि वा पछाडि सर्न सक्छ।
नेपालमा भने धान्तको खेल सुरु हुनुअघि नै यसको माहोल बनिसकेको छ।
धान्तले बिहीबार सांघाईमा भएको आधिकारिक प्रि–फाइट गतिविधिमा सहभागिता जनाएका थिए। उनले आधिकारिक तौल परीक्षणमा १३५.५ पाउन्ड तौल कायम गरे। उनका प्रतिद्वन्द्वी मर्डकले पनि १३५.५ पाउन्ड नै तौल कायम गरे। त्यसपछि भएको फेसअफमा दुवै खेलाडीले एकअर्कालाई शान्त रूपमा हेरे, मुस्कुराए र अलग भए। अघिल्ला दिनमा सामाजिक सञ्जालमा देखिएको तिक्तताभन्दा फेसअफ निकै संयमित रह्यो।






