बेंगलुरु, भारत, १९ अगस्ट २०२६ — नेपालकी शुष्मिता थापा मगरले व्यावसायिक मिश्रित मार्सल आर्ट्स (एमएमए) करियरको पहिलो खेलमै जित हात पारेकी छन्। उनले शनिबार राति भारतको बेंगलुरुमा आयोजित रोनिन फाइटिङ च्याम्पियनसिप–३ को को–मेन इभेन्टमा भारतकी शालु शर्मालाई सर्वसम्मत निर्णयका आधारमा पराजित गरिन्।
तीनवटै राउन्डमा आफ्नो नियन्त्रण कायम राखेकी शुष्मिताले सर्वसम्मत निर्णयमार्फत जित निकाल्दै व्यावसायिक एमएमए यात्राको सफल सुरुवात गरेकी हुन्। यसअघि नै व्यावसायिक मुआय थाई र किकबक्सिङमा आफ्नो क्षमता प्रमाणित गरिसकेकी उनले अब एमएमएमा पनि आफ्नो यात्रा सुरु गरेकी छन्।
शुष्मिताको व्यावसायिक मुआय थाई कीर्तिमान ७–० रहेको छ भने किकबक्सिङमा उनको रेकर्ड २–२ छ। उनले यसअघि रोनिन फाइटिङ च्याम्पियनसिप–२ मा पनि प्रतिस्पर्धा गरेकी थिइन्। त्यतिबेला किकबक्सिङअन्तर्गत भएको खेलमा उनले भारतकी आरती खत्रीलाई सर्वसम्मत निर्णयबाट पराजित गरेकी थिइन्।
शालुसँगको एमएमए भिडन्तमा शुष्मिता सुरुदेखि नै आत्मविश्वासी देखिइन्। ग्र्याप्लिङमा शालुको पकड केही बलियो देखिए पनि शुष्मिताले त्यसलाई आफ्नोविरुद्ध हाबी हुन दिइनन्। बरु उनले शालुको ग्र्याप्लिङलाई नै आफ्नो पक्षमा प्रयोग गर्दै खेलको नियन्त्रण आफ्नो हातमा राखिन्।
पाँच–पाँच मिनेटका तीन राउन्डमध्ये शुष्मिताले तीनवटैमा प्रभाव जमाइन्। दोस्रो राउन्डमा उनले शालुलाई अधिकांश समय म्याटमा राख्दै लगातार एल्बो प्रहार गरिन्। लगातारको प्रहारका कारण शालुको भौँनजिक चोट लागेर काटिएको थियो।





