सांघाई, चीन, २८ अगस्ट २०२६ — नेपालका रवीन्द्र धान्तले न्युजिल्यान्डका अपराजित खेलाडी कासिब मर्डकलाई स्प्लिट डिसिजनमा पराजित गर्दै रोड टु यूएफसी सिजन–५ को ब्यान्टमवेट फाइनलमा स्थान बनाएका छन्। जितसँगै धान्त यूएफसी सम्झौता पाउने अवसरबाट अब एक जित मात्र टाढा छन्।
शुक्रबार सांघाईमा भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा धान्तले मर्डकमाथि निर्णायकहरूको स्प्लिट डिसिजनबाट जित निकाले। यससँगै उनी प्रतियोगिताको फाइनलमा पुगेका छन्, जहाँ उनले जापानका रियो ताजिमाको सामना गर्नेछन्।
यो जितसँगै धान्तले आफ्नो लगातार जितको यात्रालाई पनि पाँच खेलसम्म पुर्याएका छन्। सेमिफाइनलअघि उनले लगातार चार खेल जितेका थिए। त्यसमा रोड टु यूएफसीको क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनमाथिको जित तथा म्याट्रिक्स फाइट नाइटमा भारतका चुनग्रेङ कोरेनविरुद्धको उपाधि जित पनि समावेश छ।
अर्कोतर्फ, मर्डक अपराजित रेकर्डसहित सेमिफाइनलमा प्रवेश गरेका थिए। न्युजिल्यान्डका यी खेलाडीले अस्ट्रेलियाको प्रमुख एमएमए प्रमोशनमध्ये एक हेक्स फाइट सिरिजमा लगातार दुईपटक उपाधि रक्षा गर्दै आफूलाई उदाउँदो प्रतिभाका रूपमा स्थापित गरेका थिए।
मर्डकमाथिको सेमिफाइनल जित धान्तका लागि नेपालबाट पहिलोपटक यूएफसीमा पुग्ने लक्ष्यतर्फको महत्वपूर्ण कदम बनेको छ। तर उनको यात्रा अझै पूरा भएको छैन।






