कपिलवस्तु, सेप्टेम्बर १३, २०२६ — कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित बाणगंगा नदीमा शनिबार राति आएको अचानक बाढीमा फसेका १२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण मुख्यालय कपिलवस्तुबाट परिचालित टोलीले बाढीका कारण नदी क्षेत्रमा फसेका ११ महिला र एक पुरुषको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हो।
सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार अचानक आएको बाढीका कारण मानिसहरू नदी क्षेत्रमा फसेको सूचना प्राप्त भएपछि तत्काल उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।
नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि सुरक्षाकर्मीको सक्रियतामा फसेका व्यक्तिहरूलाई तत्काल उद्धार गरिएको अधिकारीले बताए।
उद्धार गरिएकामा कपिलवस्तु नगरपालिका–६ का ७० वर्षीय गोपी परियार, ७० वर्षीया किराली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वाइवा, ३२ वर्षीया मीना वाइवा, ४५ वर्षीया बेलमती सुनार, ४५ वर्षीया सुष्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना बीके, २४ वर्षीया बिन्दा थापा र ३७ वर्षीय रेशम परियार रहेका छन्।






