बझाङ, सेप्टेम्बर १८, २०२६ — जिउँदो कुकुरलाई सेती नदीमा फालेको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बझाङ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेसकी ४२ वर्षीया विमलादेवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए।
विष्टका अनुसार रोकायालाई बिहीबार दिउँसो उनकै घरबाट पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एक महिलाले कुकुरलाई सेती नदीमा फालेको देखिन्छ।
भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो।






