गोरखा, सेप्टेम्बर २१, २०२६ — मनास्लु हिमाल आरोहणका क्रममा तेस्रो शिविरमा हिमपहिरो आएर टेन्ट पुरिँदा दुई आरोहीको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्।
स्थानीयका अनुसार उनीहरू शनिबार मनास्लु आरोहणका क्रममा तेस्रो शिविर पुगेका थिए। राति एक्कासि हिमपहिरो आएर टेन्टभित्र सुतिरहेका उनीहरू पुरिएका थिए।
मौसम बिग्रिएर ठूलो पानी परेपछि अन्य आरोहीहरू दोस्रो शिविरतर्फ झरे पनि गुहा र शेर्पा तेस्रो शिविरमै बसेका स्थानीयले बताएका छन्।
उनीहरू मकालु एड्भेन्चरमार्फत मनास्लु आरोहणका लागि गएका थिए। उनीहरूको शव सोमबार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लैजाने तयारी गरिएको बताइएको छ।






