काठमाडौं, अक्टोबर १६, २०२६ — भोटेकोशी–त्रिशूली नदी करिडोरमा बाढीले क्षति पुर्याएका १८ झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। ती पुल मर्मतमा करिब ५ करोड ५० लाख रुपैयाँ खर्च भएको झोलुङ्गे पुल डिभिजन कार्यालयले जनाएको छ।
स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको उक्त कार्यालयका योजना प्रमुख शंकर बुढाथोकीले सबै १८ पुल मर्मत सम्पन्न भई सञ्चालनमा आएको जानकारी दिए।
बुढाथोकीका अनुसार नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम झोलुङ्गे पुल, नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–१ जोड्ने फोरेसेटर पुल, बेलकोटगढी–८ र विदुर नगरपालिका–३ जोड्ने जिलिङ पुल तथा धादिङको सिद्धलेक–३ र बेनीघाट रोराङ–३ जोड्ने पुलमा प्रमुख मर्मत गरिएको थियो।
त्यसैगरी, नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–१ जोड्ने केउरेनी घेघाटे पुल, धादिङको सिद्धलेक–६ र गजुरी–१ जोड्ने पुल, गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान मस्टार पुल, गल्छी–१ र वडा नम्बर ४ जोड्ने पुल, गल्छी–२ र वडा नम्बर ४ जोड्ने शीतलबजार केउरेनीटार पुल, नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–२ जोड्ने कोल्पु कल्लेरीघाट पुल तथा गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने पुलमा पनि व्यापक मर्मत गरिएको थियो।
गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने झोलुङ्गे पुल सामान्य मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको छ।






