काठमाडौं, सेप्टेम्बर २२, २०२६ — त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा गम्भीर घाइते भएका २५ वर्षीय सार्वजनिक बस चालक अर्जुन दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
कीर्तिपुर अस्पतालमा उपचारका क्रममा लामाको मृत्यु भएको अस्पतालकी निर्देशक निजिना ताम्राकारले जानकारी दिइन्। उनको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो।
मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसभित्र आगलागी भएको थियो। घटनालगत्तै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार आगलागी हुनुभन्दा केही मिनेटअघि १२ः३७ बजे लामाको ट्राफिक प्रहरीसँग विवाद भएको थियो।
लामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका स्थायी बासिन्दा तथा हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए। उनी सात भाइमध्ये एक थिए।






