मोरङ, सेप्टेम्बर २०, २०२६ — राजनीतिक विश्लेषक भरत दाहाललाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई बेलबारीबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन। उनी पछिल्लो समय बालेन्द्र शाह नेतृत्वको सरकारका विरुद्ध सार्वजनिक रूपमा बोल्दै आएका थिए।
कटुवालका अनुसार दाहालविरुद्ध साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो र उनलाई आइतबार नै काठमाडौं पठाइनेछ।
दाहाल कार्यक्रमका लागि बेलबारी पुगेका थिए। तर, प्रहरीका अनुसार उक्त कार्यक्रमबारे आफूहरूलाई कुनै जानकारी थिएन।






