काठमाडौं, सेप्टेम्बर १७, २०२६ — अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतीय सरकारको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान ७:३५ बजे नयाँदिल्ली प्रस्थान गरेका छन्। भ्रमणमा विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्य विस्तार मुख्य विषय रहेका छन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वाग्लेको भारत भ्रमणलाई स्वीकृति दिएको थियो। वाग्ले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीसहित छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन्।
अर्थ मन्त्रालय तथा वाग्लेको सचिवालयका अनुसार भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा छलफल हुनेछ। विपद्पछिको पुनर्निर्माणमा सहकार्यलाई विशेष प्राथमिकता दिइनेछ।
वाग्लेले बिहीबार साँझ ५ बजे आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्।
शुक्रबार बिहान वाग्ले भारतका पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। सोही दिन उनले भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने अन्तरक्रियामा पनि सहभागी हुने कार्यक्रम छ।






