काठमाडौं, अक्टोबर १४, २०२६ — गृहमन्त्री सुदन गुरुङ तीनदिने भारत भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनले नयाँदिल्लीमा आयोजित बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागिता जनाउनुका साथै भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय वार्ता गरेका थिए।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठकलाई सम्बोधन गर्दै गुरुङले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिम सामना गर्न ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संरचना’ स्थापना गर्ने प्रस्ताव राखेका थिए।
भारत भ्रमणका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय छलफल पनि गरेका थिए।
स्वदेश फर्कने क्रममा बुधबार गृहमन्त्री गुरुङले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग संक्षिप्त भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
गुरुङ अक्टोबर १२ मा भारत भ्रमणका लागि प्रस्थान गरेका थिए।






