दोहा, कतार, सेप्टेम्बर २८, २०२६ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी विस्तार गर्न, विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न तथा सहुलियतपूर्ण वित्तीय स्रोतमा नेपालको पहुँच बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन्।
एआईआईबीको बोर्ड अफ गभर्नर्सको ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका वाग्लेले आइतबार एआईआईबी अध्यक्ष जोउ जियायीसँग भएको भेटमा यस्तो आग्रह गरेका हुन्।
एआईआईबी अध्यक्ष जियायीले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको पछिल्लो विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालमा बाढीपछिको पुनर्निर्माणका लागि बैंकबाट सम्भव सबै सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
जियायीले परियोजना तयारीमा सहयोग गर्न एआईआईबीको प्रोजेक्ट प्रिपरेसन स्पेसल फन्डअन्तर्गत नेपाललाई अनुदान सहायता उपलब्ध गराइने बताइन्। उनले लेस डेभलप्ड मेम्बर्सका लागि रहेको स्पेसल फन्ड विन्डोबाट अनुदान उपयोग गरी नेपाललाई अत्यन्त सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने विषयमा पनि बैंकले विचार गर्ने बताइन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार जियायीले एआईआईबीको संस्थापक सदस्य नेपालसँग आर्थिक विकासका लागि थप सहकार्य गर्ने बैंकको प्रतिबद्धता पनि दोहोर्याइन्।






