सर्वेक्षणमा सहभागीमध्ये ९०.९ प्रतिशतले राजनीतिक प्रतिनिधित्व पर्याप्त नभएको बताएका छन्। त्यस्तै, ६८.४ प्रतिशतले राजनीतिक सहभागिताका क्रममा आफूलाई सुरक्षित महसुस नगर्ने बताएका छन्। राजनीतिक दलमा आबद्ध हुनेको संख्या भने १७.४ प्रतिशत मात्रै रहेको सर्वेक्षणले देखाएको छ।
यी तथ्यांकले संवैधानिक रूपमा अधिकारको मान्यता पाए पनि राजनीतिक दल, नेतृत्व संरचना र नीति निर्माण तहमा समुदायको पहुँच तथा सहभागिता कमजोर रहेको देखाउँछन्।
यस अवस्थालाई परिवर्तन गर्न परियोजनाले चार क्षेत्रमा काम गर्नेछ। पहिलो, समुदायका सदस्यको राजनीतिक ज्ञान, क्षमता र नेतृत्व कौशल विकास गरी नयाँ नेतृत्व तयार गर्नेछ। दोस्रो, अनुभवी राजनीतिक नेतृत्वसँग मार्गदर्शन तथा परामर्शको अवसर सिर्जना गर्दै राजनीतिक दलमा आबद्धता र उम्मेदवारीका लागि सहयोग गर्नेछ।
तेस्रो, राजनीतिक सहभागितामा रहेका कानुनी, नीतिगत, सामाजिक र संस्थागत अवरोध पहिचान गरी अनुसन्धानमा आधारित नीतिगत सुधारका लागि पैरवी गर्नेछ। चौथो, राजनीतिक दल, सार्वजनिक निकाय, निर्वाचित प्रतिनिधि र अन्य सरोकारवालासँग सहकार्य तथा संवाद गर्दै समावेशी प्रतिनिधित्व र निर्णय प्रक्रियामा पहुँच बढाउनेछ।
सञ्चारमाध्यम, सार्वजनिक बहस, जनचेतनामूलक कार्यक्रम र सामूहिक अभियानमार्फत समुदायप्रति समाजमा विद्यमान विभेद, पूर्वाग्रह र नकारात्मक धारणा परिवर्तन गर्ने लक्ष्य पनि परियोजनाले राखेको छ।
परियोजनाले करिब तीन हजार व्यक्तिसम्म प्रत्यक्ष पहुँच पुर्याउने र सञ्चार, पैरवी तथा सामाजिक रूपान्तरणका गतिविधिमार्फत करिब नौ लाख जनसंख्यामा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ।
नेपालले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान र संवैधानिक अधिकारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरे पनि ती अधिकारलाई राजनीतिक शक्ति, नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका रूपमा रूपान्तरण गर्न चुनौती रहेको छ।
राजनीतिक दलभित्र सीमित पहुँच, सामाजिक पूर्वाग्रह, विभेद, असुरक्षा र संस्थागत अवरोधका कारण समुदायको प्रतिनिधित्व कमजोर रहँदै आएको छ।
परियोजनाले संवैधानिक रूपमा प्राप्त अधिकारलाई वास्तविक राजनीतिक सहभागितामा, सहभागितालाई प्रतिनिधित्वमा र प्रतिनिधित्वलाई नीति तथा निर्णय प्रक्रियामा प्रभाव पार्न सक्ने क्षमतामा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।