चितवन, अक्टोबर १६, २०२६ — चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाट प्रवेश टिकट काट्न सकिने विद्युतीय टिकट प्रणाली सुरु गरेको छ। यससँगै पर्यटकले घरबाटै टिकट काटेर निकुञ्ज प्रवेशको प्रक्रिया पूरा गर्न सक्नेछन्।
पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था गरिएको छ। परीक्षणको नतिजाका आधारमा निकुञ्जका अन्य प्रवेश नाकामा पनि सेवा विस्तार गर्ने योजना रहेको छ। यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने व्यवस्था थियो। नयाँ प्रणालीले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ।
बिहीबार चितवन क्षेत्र नं. १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले प्रणालीको उद्घाटन गरेका हुन्।
पुनका अनुसार निकुञ्ज प्रशासनले विद्युतीय टिकट प्रणाली सुरु गर्न लामो समयदेखि प्रयास गर्दै आएको थियो। शिवपुरी राष्ट्रिय निकुञ्जमा पनि यस्तो प्रणाली सुरु भएपछि चितवनमा यसको आवश्यकता थप महसुस गरिएको उनले बताए।
उनले चितवन राष्ट्रिय निकुञ्जको ७० देखि ७५ प्रतिशत राजस्व सौराहा क्षेत्रबाट सङ्कलन हुने र सोही अनुपातमा पर्यटक पनि यही क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने भएकाले सौराहामा अनलाइन टिकट प्रणाली आवश्यक देखिएको बताए। प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको फेसबुक पेज र वेबसाइटमा ट्युटोरियल राखिने पनि उनले जानकारी दिए।






