काठमाडौं, सेप्टेम्बर ७, २०२६ — भोटेकोशीमा आएको विनाशकारी बाढीबाट मानिसहरूको मृत्यु भएको विषयमा खुसी व्यक्त गर्दै सामाजिक सहिष्णुतामा खलल पुग्ने खालका अभिव्यक्ति दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भई काठमाडौंमा बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्।
साइबर ब्युरोका अनुसार मडैलाई भदौ २० गते पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले अनुसन्धानका लागि अदालतबाट म्यादसमेत लिएको जनाएको छ।
आरोपीले भोटेकोशीको बाढीमा मानिसहरू बगेको घटनाप्रति खुसी व्यक्त गर्दै विभिन्न समुदायलाई लक्षित गरी सामाजिक सद्भाव र सहिष्णुतामा असर पर्न सक्ने अभिव्यक्ति दिएका थिए।
उनले उक्त विषयमा भिडियो बनाएर फेसबुक रिल्समार्फत सार्वजनिक गरेपछि साइबर ब्युरोले अनुसन्धान थालेको थियो।






