गुल्मी, अक्टोबर १, २०२६ — लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ।
करिडोरअन्तर्गत हर्मिचौर–अर्बेनी–पुर्तिघाट सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय, पाल्पासँगको समन्वयमा बुलडोजर र एक्स्काभेटर प्रयोग गरी पहिरोको मलबा हटाएपछि बुधबार साँझदेखि सडक सञ्चालनमा आएको हो।
सत्यवती गाउँपालिकाको रुद्रबेणीदेखि हर्मिचौर–अर्बेनी–पुर्तिघाट क्षेत्रसम्म सडकका विभिन्न स्थानमा हिलो, लेदो र ठूला ढुङ्गा थुप्रिएका थिए।
सडक अवरुद्ध हुँदा उक्त क्षेत्रबाट तम्घास, बागलुङ, पाल्पा, बुटवल र पोखरातर्फ आवतजावत गर्ने यात्रुले कठिनाइ भोग्नुपरेको थियो।






