दार्चुला, सेप्टेम्बर १४, २०२६ — दार्चुलाको व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पक्राउ परेका आठ जनालाई धरौटीमा रिहा गर्न उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले आदेश दिएको छ।
यसअघि दार्चुला जिल्ला अदालतले मुद्दाको थप कारबाहीका लागि आठै जनालाई थुनामा पठाएको थियो। उच्च अदालतले जिल्ला अदालतको थुनामा राख्ने आदेश उल्टाउँदै सबैलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
आत्महत्या दुरुत्साहनसम्बन्धी आरोप लागेका परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही २ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
त्यस्तै, खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्टलाई जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ। नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही १ लाख रुपैयाँ धरौटी तोकिएको छ।






