कञ्चनपुर, अक्टोबर २, २०२६ — कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल ल्याइएका ३ लाख ७९ हजार ७८० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी जिमुवाले भीमदत्त नगरपालिका–१० तिलाचौरबाट ती सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याएर उक्त क्षेत्रमा बेवारिसे अवस्थामा राखिएका इलेक्ट्रोनिक सामान, मोबाइल कभर, मोबाइल ग्लास, बीउबिजन तथा किराना सामान बरामद गरिएको हो।
बरामद सामानको भन्सार मूल्य ३ लाख ७९ हजार ७८० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा बुझाइएको छ।






