काठमाडौं, १ सेप्टेम्बर २०२६ — भोटेकोशी नदीबाट त्रिशूली नदी प्रणालीसम्म फैलिएको विनाशकारी बाढीबाट हालसम्म ४ हजार २७० जनाको उद्धार गरिएको छ भने ४ हजार ५९९ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ।
काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ३ पुरुष, १ हजार २५४ महिला र १३ जना पहिचान नखुलेका व्यक्ति छन्।
खोज तथा उद्धार कार्यलाई तीव्र बनाइए पनि ठूलो सङ्ख्यामा मानिस अझै बेपत्ता रहेकाले सुरक्षाकर्मी र सरकारी संयन्त्रलाई खोज तथा उद्धार कार्यमा प्राथमिकताका साथ परिचालन गरिएको छ।
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले उद्धार गरिएका ३ हजार ४५३ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको जानकारी दिए।
तीमध्ये नुवाकोटका होल्डिङ सेन्टरमा २ हजार ४६६ जना, धादिङमा २६० जना, रसुवामा ३९८ जना र काठमाडौंमा ३२९ जना रहेका छन्।






