सिमरा, १५ अगस्ट २०२६ — बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालित सात उद्योगले आफ्ना उत्पादन बजारमा बिक्री तथा वितरण सुरु गरेका छन् भने थप ११ उद्योग निर्माणको अन्तिम चरणमा पुगेका छन्। यससँगै सिमरा सेजमा औद्योगिक गतिविधि बढ्दै गएको छ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार सञ्चालनमा आएका तथा निर्माणको अन्तिम चरणमा रहेका उद्योगमा करिब ५ अर्ब रुपैयाँ लगानी भएको छ।
सिमरा सेजका साइट इन्चार्ज रामसिंह मालले सेजभित्र स्थापना भएका सात उद्योगले उत्पादन सुरु गरी आफ्ना वस्तु बिक्री तथा वितरण गरिरहेको जानकारी दिए। सञ्चालनमा रहेका उद्योगमा नेपालीसँगै विदेशी लगानीकर्ताको पनि सहभागिता रहेको उनले बताए।
सञ्चालनमा रहेका उद्योगमध्ये टायल उत्पादन गर्ने पशुपति सेरामिक्स एटीएसमा सबैभन्दा ठूलो लगानी भएको मालले बताए। उत्पादन सुरु गरेका उद्योगबाट हालसम्म ८०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए।
भारतको एजीएल समूह र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा स्थापना भएको नेपोभिट सेरामिक्स प्रालि पनि उत्पादन सुरु गर्ने तयारीमा छ। कम्पनीले सेज परिसरबाट टायल उत्पादन गर्ने योजना बनाएको छ।





