हुवावेविरुद्धको पछिल्लो सुनुवाइमा मेङले बयान दिएकी थिइनन्। तर सन् २०१३ मा उनीसँग भेट गरेका एचएसबीसीका एक बैंकरले अदालतमा बयान दिएका थिए।
सन् २०१८ को मूल अभियोगपत्रमा हुवावेले इरानसँगको कारोबारबारे एचएसबीसी, स्ट्यान्डर्ड चार्टर्ड र बीएनपी पारिबालाई गलत जानकारी दिएको उल्लेख थियो। सन् २०२० मा सरकारी पक्षले मुद्दामा थप अभियोग समावेश गर्दै कम्पनीले दुई दशकसम्म अमेरिकी प्रविधि कम्पनीका व्यापारिक गोप्य सूचना चोर्न षड्यन्त्र गरेको आरोप लगाएको थियो।
व्यापारिक गोप्य सूचना चोरीसम्बन्धी आरोप पुष्टि गर्न सरकारी पक्षले विभिन्न कम्पनीसँग सम्बन्धित प्रमाण प्रस्तुत गरेको थियो। हुवावेले आफ्ना राउटरका लागि सिस्को सिस्टम्सले विकास गरेको स्रोत कोड चोरेको, दूरसञ्चार उपकरण निर्माता क्विन्टेलको एन्टेना प्रविधि प्राप्त गरेको र सेमिकन्डक्टर कम्पनी सीएनईएक्सले विकास गरेको सर्किट बोर्डमा पहुँच पाउन एक प्राध्यापकको प्रयोग गरेको सरकारी पक्षको आरोप थियो।
सरकारी वकिलहरूले प्रस्तुत गरेको एउटा भिडियो पनि जुरीलाई देखाइएको थियो। उक्त भिडियोमा हुवावेका एक कर्मचारीले टी-मोबाइलको परीक्षण गर्ने रोबोटको एउटा भाग आफ्नो झोलामा राखेको देखिएको सरकारी पक्षको दाबी थियो। त्यस्तै, व्यापार मेलामा फुजित्सुको प्रदर्शनी कक्षमा प्रवेश गरेर एक उपकरणको तस्बिर खिचेको आरोप हुवावेका एक इन्जिनियरमाथि लगाइएको थियो।
मेङसँग गरिएको अभियोजन स्थगनसम्बन्धी सम्झौतासँग जोडिएको एउटा विवरण पनि सरकारी पक्षले अदालतमा प्रस्तुत गरेको थियो। त्यसमा हुवावेले इरानमा गैरकानुनी रूपमा कारोबार गरेको स्वीकार गरिएको उल्लेख थियो।
तर प्रतिरक्षा पक्षले एचएसबीसी लगायतका बैंकहरूलाई हुवावेको इरानस्थित कारोबारबारे जानकारी रहेको र उनीहरू कम्पनीको व्यावसायिक कारोबार आफ्नो पक्षमा पार्न प्रतिस्पर्धा गरिरहेको तर्क गरेको थियो।
अन्तिम बहसका क्रममा हेबरलिगले सरकारी पक्षले २० वर्ष लामो षड्यन्त्र प्रमाणित गर्न केही छिटपुट घटनालाई मात्रै छानेर प्रस्तुत गरेको आरोप लगाए। हुवावेको सफलता मेहनत, नवीनता र अनुसन्धान तथा विकासमा गरिएको लगानीको परिणाम भएको उनको जिकिर थियो।
हुवावेमा दुई लाखभन्दा बढी कर्मचारी कार्यरत छन् र कम्पनीले विश्वका करिब १७० देशमा व्यवसाय सञ्चालन गर्दै आएको छ।