नुवाकोट, सेप्टेम्बर १५, २०२६ — भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट त्रिशूली नदी आसपासका झोलुङ्गे पुलमा पुगेको क्षति मर्मत तथा पुनःनिर्माण गरी स्थानीयवासीको वारिपारिको सम्बन्ध पुनःस्थापित गर्न सरकारले काम अघि बढाएको छ।
बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशूली नदीमाथि रहेका झोलुङ्गे पुलमा क्षति पुर्याएपछि स्थानीयको दैनिक आवतजावत प्रभावित भएको छ। पुलमा क्षति पुगेपछि नदीको एक किनारबाट अर्को किनारमा जान कठिन हुनुका साथै बजार, विद्यालय, स्वास्थ्य संस्था र अन्य अत्यावश्यक सेवामा पहुँचसमेत प्रभावित भएको छ।
विशेषगरी नुवाकोटको केउरेनी बजार र तारुकाघाटलगायतका क्षेत्रमा क्षतिग्रस्त पुलको मर्मत सुरु भइसकेको छ। पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्। दैनिक उपभोग्य सामग्री खरिद गर्न बजार पुग्नेदेखि कृषि उत्पादन ओसारपसार गर्नेसम्मका काम प्रभावित भएका छन्।
सरकारले बाढीबाट क्षति पुगेका झोलुङ्गे पुलको मर्मत तथा पुनःनिर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा पुलमा बाढीबाट क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको थियो।
प्रभावित क्षेत्रमा गरिएको स्थलगत मूल्याङ्कनका क्रममा क्षतिग्रस्त ५३ पुलमध्ये २० वटा मर्मत गर्नुपर्ने र ३३ वटा पुनःनिर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।






