काठमाडौं, ११ अगस्ट २०२६ — क्रिकेट विश्वकप लिग–२ मा लगातार निराशाजनक प्रदर्शनपछि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टोलीको कप्तानमा सन्दीप लामिछानेलाई पुनः नियुक्त गर्दै टोली संरचनामा व्यापक परिवर्तन गरेको छ।
क्यानले शुक्रबार मलेसियामा अगस्ट ३० देखि सुरु हुने एसीसी मेन्स प्रिमियर कपका लागि लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। नेदरल्यान्ड्समा हालै सम्पन्न लिग–२ शृंखलामा नेपाल ४–० ले पराजित भएपछि राष्ट्रिय टोलीको संरचनामा ठूलो परिवर्तन गरिएको हो।
टोलीमा ठूला परिवर्तन
लामिछाने कप्तानका रूपमा फर्किएसँगै केही अनुभवी खेलाडी टोलीबाट बाहिरिएका छन्। तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर आरिफ शेख प्रिमियर कपको टोलीमा परेनन्। नियमित ओपनर कुशल भुर्तेललाई नेपाल ‘ए’ टोलीमा पठाइएको छ।
सोमपाल कामी, आरिफ शेख, नन्दन यादव, विनोद भण्डारी र भीम सार्कीलाई भने सिनियर र ‘ए’ दुवै टोलीबाट बाहिर राखिएको छ।


