सेलाङ्गोर, मलेसिया, ३१ अगस्ट २०२६ — नेपालले एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा बहराइनलाई सात विकेटले पराजित गर्दै सोमबार विजयी सुरुवात गरेको छ। उत्कृष्ट बलिङपछि नेपालले ८८ रनको सामान्य लक्ष्य २१ ओभरमै तीन विकेट गुमाएर पूरा गर्यो।
बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली बलरले सुरुदेखि नै दबाब कायम राखेपछि बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो। जितसँगै नेपालले समूह ‘ए’ को आफ्नो अभियानमा महत्वपूर्ण दुई अंक जोडेको छ।
नेपालका कप्तान सन्दीप लामिछाने बलिङतर्फ मुख्य आकर्षण बने। कप्तानका रूपमा पुनरागमन गरेका लामिछानेले १० ओभरमा चार मेडनसहित केवल १४ रन खर्चेर पाँच विकेट लिए। उनले आफ्नो पहिलो बलमै विकेट लिएर सुरुआत गरेका थिए।
ललित राजवंशीले ६.२ ओभरमा २० रन खर्चेर तीन विकेट लिए भने करण केसीले आठ ओभरमा १४ रन दिँदै दुई विकेट लिए। नेपाली बलरले लगातार दबाब कायम राख्दा बहराइनले ठूलो साझेदारी बनाउन सकेन।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। उनले १५ बलमा दुई चौका र एक छक्का प्रहार गरे। मोहम्मद वासिमले १३ रन तथा अली दाउदले १० रन बनाए। यी तीन खेलाडीबाहेक बहराइनका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।






