आइची प्रान्त, जापान, ६ सेप्टेम्बर २०२६ — नेपाली किकबक्सर अभिरल घिमिरेले फ्रान्सका वर्तमान विश्व च्याम्पियन म्याथोन शोइनार्डलाई नकआउट गर्दै जापानमा भएको हिट किक बक्सिङ–५९औँ इन्टरनेसनल स्पोर्ट्स किक बक्सिङ फेडेरेसन विश्व च्याम्पियनसिपमा महत्वपूर्ण सफलता हासिल गरेका छन्।
शनिबार नागोयाको कारिया हलमा भएको मुख्य प्रतिस्पर्धामा घिमिरेले सन् २०२५ देखि विश्व च्याम्पियन रहेका शोइनार्डलाई पराजित गरेका हुन्।
‘हिमालयन चितुवा’का रूपमा परिचित घिमिरेले दोस्रो राउन्डको दोस्रो मिनेटमा शक्तिशाली मुक्का प्रहार गर्दै फ्रान्सेली प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए।
यो जित घिमिरेको अन्तर्राष्ट्रिय किकबक्सिङ करियरको अर्को महत्वपूर्ण उपलब्धि बनेको छ। उनले हालसम्म २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै २१ वटा जित हासिल गरेका छन्। तीमध्ये २० वटा जित नकआउटमार्फत आएका छन्।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै आएका घिमिरेले आफूलाई नेपाली कम्ब्याट खेलकुदका प्रमुख खेलाडीमध्ये एकका रूपमा स्थापित गर्दै आएका छन्।






