जाजरकोट, अक्टोबर १५, २०२६ — जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बिहीबार बिहान बोलेरो जीप सडकबाट करिब ३०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको उक्त जीप सुर्खेतबाट जुनीचाँदेतर्फ जाँदै गर्दा बिहान करिब २ बजे वडा नम्बर २ स्थित गैरीगुवाको स्थानीय सडकमा अनियन्त्रित भएर खसेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–९ काली स्यालाका करिब २० वर्षीय चालक सन्तबहादुर बस्नेत र वडा नम्बर ३ स्यालाकी करिब ३० वर्षीया बिपना भण्डारी रहेका छन्। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा वडा नम्बर ३ स्यालाका करिब ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा शिशिर भण्डारी र करिब ५० वर्षीया सीतला तमाता रहेका छन्।
प्रहरीका अनुसार तीनै जनालाई मध्यम चोट लागेको छ। उनीहरूलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको छ।






