नुवाकोट, ३ सेप्टेम्बर २०२६ — रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मानिसहरू फसेको आशंका गरिएको नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट सुरुङको प्रवेशद्वारबाट उद्धार टोलीले करिब ३ फिट भाग सफा गरेको छ।
नेपाली सेनाको नेतृत्वमा ९३ सदस्यीय टोलीले चिनियाँ उद्धार टोली तथा अन्य प्राविधिक जनशक्तिको सहयोगमा उद्धार कार्य जारी राखेको छ। टोलीले सुरुङको अवरोध हटाउन पाँचवटा एक्स्काभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग गरिरहेको छ।
सुरुङको प्रवेशद्वार भत्किएका फलामे संरचना, ठूला ढुंगा तथा माटो र अन्य भग्नावशेषले पुरिएको छ। उक्त अवरोध करिब ४० मिटर लामो र २० मिटर उचाइसम्म रहेको बताइएको छ।
दिनरात निरन्तर प्रयासपछि उद्धार टोली सुरुङभित्र करिब १५ देखि २० मिटरसम्म प्रवेश गर्न सफल भएको छ।
तर एक्स्काभेटर तथा अन्य भारी उपकरण सुरुङभित्र लैजानुअघि प्रवेशद्वार पूर्ण रूपमा सफा गर्नुपर्ने अवस्था छ। बाटो अवरुद्ध गरिरहेका थप सातवटा ठूला ढुंगा विस्फोट गराएर हटाउने तयारीसमेत गरिएको छ।






