काठमाडौं, सेप्टेम्बर १३, २०२६ — सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बताएका छन्।
तिमल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विस्थापित परिवारका लागि स्थायी आवास निर्माण नभएसम्म मासिक रूपमा आवास तथा जीवनयापन खर्च उपलब्ध गराउने निर्णय गरेको छ।
निर्णयअनुसार चार जनासम्म सदस्य भएको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यबापत थप २ हजार रुपैयाँ प्रदान गरिनेछ।
मौद्रिक सहायता लिन नचाहने परिवारका लागि स्थायी पुनर्निर्माण सम्पन्न नहुँदासम्म अस्थायी आवासको व्यवस्था गर्ने वैकल्पिक प्रबन्ध पनि सरकारले गरेको मन्त्री तिमल्सिनाले बताएका छन्।
लाभग्राहीको विवरण संकलन गर्न सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको छ।






