रसुवा, १ सेप्टेम्बर २०२६ — रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ५८ शव फेला परेको र ४ हजार ६०६ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले सेप्टेम्बर १ मा दिउँसो २ बजे सार्वजनिक गरेको रसुवा भोटेकोशी बाढी खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक विवरणअनुसार विपद् प्रतिकार्यका लागि ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ।
परिचालित प्रहरीमध्ये ६५ जना विपद्बाट प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
प्रहरीले हालसम्म ४ हजार ५३० जनालाई घाइते वा उद्धार गरिएको व्यक्तिको विवरणमा समावेश गरेको छ। तीमध्ये ३ हजार २१४ जना पुरुष, १ हजार ३०२ जना महिला र १४ जनाको लैङ्गिक विवरण उल्लेख गरिएको छैन। उक्त सङ्ख्यामा ५८० जना विदेशी नागरिक पनि रहेका छन्।
हाल ४ हजार ६०६ जना बेपत्ता रहेको विवरणमा २ हजार ६८३ जना नेपाली नागरिक छन्। बेपत्ता नेपाली नागरिकमध्ये २ हजार ३१५ जना पुरुष र ३६८ जना महिला रहेका छन्।






