काठमाडौं, अक्टोबर २, २०२६ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले जंगली हात्तीको आक्रमण र जग्गा स्वामित्वसम्बन्धी समस्याबाट झापाका जनता पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राना मगरले बाली भित्र्याउने समयमा हात्तीबाट हुने क्षति कम गर्न तथा जग्गाको निस्सा पाइसकेका नागरिकलाई तत्काल लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरिन्।
दसैँ नजिकिँदै गर्दा झापाका किसानहरू बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएको उनले संसद्मा बताइन्।
हात्तीको समस्या मात्र नभई जग्गासम्बन्धी समस्या पनि गम्भीर रहेको उल्लेख गर्दै उनले जग्गाको निस्सा पाइसकेका सुकुम्बासीलाई पुनः नापीका नाममा थप दुःख दिने काम भइरहेको बताइन्।
केही स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै भ्रम फैलाउने काम भइरहेको जनगुनासो सुनिएको उल्लेख गर्दै उनले यस विषयमा सम्बन्धित मन्त्रालयले आफ्नो धारणा स्पष्ट पार्नुपर्नेमा जोड दिइन्।






