काठमाडौं, सेप्टेम्बर २०, २०२६ — पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संशोधनका नाममा वर्तमान संविधानलाई विकृत बनाउने खेल भइरहेको आरोप लगाएका छन्।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारी ठगीको जालो’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले संविधानको कार्यान्वयन अवस्थाको समीक्षा नगरी अघि बढाइएको संशोधनको बहसलाई अनर्थको संज्ञा दिएका हुन्।
उनले संविधानको कार्यान्वयन अवस्थाबारे पहिला गम्भीर समीक्षा गर्नुपर्ने र त्यसपछि मात्रै संशोधन आवश्यक छ कि छैन भन्ने तय गर्नुपर्ने बताए।
‘संविधानको मर्म र भावनालाई संशोधन गर्नु हुँदैन। यसमा भएका त्रुटि र कमजोरीहरूलाई साँच्चै नै केलाएर संशोधन गर्ने कुरा बेग्लै हो,’ खनालले भने। संविधानको समीक्षा नै नगरी संशोधनको हल्ला चलाउनु उचित नभएको उनको भनाइ थियो।
खनालले संविधान संशोधनलाई सामान्य विषयका रूपमा नलिन राजनीतिक दलहरूलाई चेतावनी दिए। संशोधन प्रक्रिया गम्भीर र जिम्मेवारीपूर्वक अघि बढाउनुपर्ने भन्दै उनले यसका लागि सम्पूर्ण राष्ट्र र सबै राजनीतिक दलहरूबीच बृहत् छलफल तथा सर्वदलीय सहमति आवश्यक रहेको बताए।






