काठमाडौं, अक्टोबर ९, २०२६ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ। बैठकमा महाधिवेशनको कार्यतालिका सञ्चालनसम्बन्धी कार्यविधिबारे छलफल हुने छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा महाधिवेशनको कार्यविधिसँगै वरिष्ठ नेता झलनाथ खनालले घोषणा गरेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुनेछ।
‘बैठकले महाधिवेशनको कार्यतालिकासम्बन्धी कार्यविधि पारित गर्छ। दसैँ–तिहारको अवसरमा जमघट बढी हुन्छन्। त्यसैलाई मध्यनजर गरी हामीले अभियान चलाउन लागेका हौँ,’ ज्वालाले भने।
खनालसँग स्पष्टीकरण माग्ने वा नमाग्ने भन्ने निर्णय पनि बैठकले नै गर्ने ज्वालाले बताए।
यसअघि असोज ६ गते बसेको समितिको बैठकले असोज १५ देखि मंसिर १५ गतेसम्म दुई महिना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।






