काठमाडौं, ८ सेप्टेम्बर २०२६ — नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज अंगदेम्बेले जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गरी त्यसमा रहेका सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
जेनजी आन्दोलनको पहिलो वर्ष पूरा भएको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै अंगदेम्बेले शान्तिपूर्ण प्रदर्शनमा हिंसा भड्काउने, आन्दोलनमा घुसपैठ गर्ने, भदौ ९ गते अत्यधिक बल प्रयोग गर्ने तथा भदौ १० गते भएका तोडफोडमा संलग्न सबैमाथि कारबाही गर्न आयोगले सिफारिस गरेको उल्लेख गरेका छन्।
‘सरकारले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसका सिफारिस पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ,’ उनले भनेका छन्, ‘जो–सुकै संलग्न भए पनि निष्पक्ष छानबिन र कानुनी कारबाही हुनुपर्छ।’
राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने उनको भनाइ छ।
राज्यशक्तिको दुरुपयोग गर्ने र कानुन हातमा लिएर देशलाई विनाशतर्फ धकेल्ने दुवै पक्षलाई जवाफदेही बनाउनुपर्ने अंगदेम्बेले बताएका छन्।






