मकवानपुर, १९ अगस्ट २०२६ — विद्यालयबाट घर फर्कने क्रममा नदी तर्ने क्रममा चार छात्रालाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। एक छात्रालाई भने सकुशल उद्धार गरिएको छ।
बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत चार छात्रा विद्यालयबाट घरतर्फ जाने बाटोमा बासुदेवमा रहेको खोला तर्ने क्रममा बगेका विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीले प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीका अनुसार बस्तीपुरका दीप स्याङ्ताङकी ८ वर्षीया छोरी रोशनीको शव घटनास्थलबाट करिब ६०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार खोजीका क्रममा उनको शव फेला परेको हो।
त्यस्तै, स्थानीय सीताराम भोलनकी १३ वर्षीया छोरी सीमा भोलनलाई भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
तर ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया बिनिता भोलन अझै बेपत्ता छन्।






