बागलुङ, सेप्टेम्बर २८, २०२६ — कालीगण्डकी नदीमा बहाव बढेपछि नदी कटान हेर्ने क्रममा ढिकबाट खसेर बागलुङमा ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ।
बागलुङ नगरपालिका–४ ओढारचौरका चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको हो। उनी पर्वतको जलजला गाउँपालिकास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ को ढोडेनी क्षेत्रमा भइरहेको नदी कटान हेर्न गएका बेला ढिकबाट खसेका थिए।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले घटनाको पुष्टि गरेका छन्।
यसैबीच, पछिल्लो दुई दिनदेखि परेको अविरल वर्षापछि बागलुङमा भएका पहिरो तथा अन्य घटनामा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।
आइतबार मात्रै पहिरो र दुर्घटनामा परी नौ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका छन्। यसअघि शनिबार पहिरोमा परी एक जनाको मृत्यु भएको थियो।






