काठमाडौं, ३० अगस्ट २०२६ — संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को कार्यालयमा भएको भेटवार्ताका क्रममा यूएई एडको प्रतिनिधिमण्डलले आर्थिक सहयोगका साथै आवश्यक उपकरण र सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्राधिकरणले जनाएको छ।
भेटका क्रममा यूएई एडको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने राहत सामग्री र उपकरणबारे जानकारी लिएको थियो।
एनडीआरआरएमएका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइका सामग्री, हाइजिन किट, ठूला पारिवारिक टेन्ट र चार्जिङ सुविधासहितका पोर्टेबल बत्तीको आवश्यकता रहेको जानकारी गराए।
त्यसैगरी, पोर्टेबल जेनेरेटर, सोलार प्यानल, स्याटेलाइट फोन र वाकीटकीलगायतका उपकरण पनि तत्काल आवश्यक रहेको प्राधिकरणले जनाएको थियो।






